२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

‘मैले अब बार्सिलोनामै रहने निर्णय गरेको छु’ : लियोनल मेसी

- विशेष खबर शनिबार २०, भदौ २०७७ ०९:४१

‘मैले अब बार्सिलोनामै रहने निर्णय गरेको छु’ : लियोनल मेसी

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडि लियोनल मेसीले तत्काल क्लब नछाड्ने बताएका छन्। मेसीले बार्सिलोनाले जारी गरेको रिलिज क्लज तिर्न अन्य क्लबका लागि सम्भव नहुने तथा आफूलाई मुद्दा लड्ने चाहना नभएकाले क्लबमै बस्ने बताएका हुन्।

३३ वर्षीय मेसीले गएको साता आफूले क्लबसंगको करिअर टुंग्याउन चाहेको बताएका थिए भने रिलिज क्लजको सर्त हटाउन बार्सिलोनालाई आग्रह गरेका थिए।

बार्सिलोना मेसीको ७ सय मिलियन युरोको रिलिज क्लज हटाउन तयार नभएपछि मेसीले क्लबमै बस्ने बताएका हुन्। तर मेसीले आफू क्लब छाड्न स्वतन्त्र रहेको बताएका छन्।

'मलाई लाग्छ म क्लब छाड्न स्वतन्त्र छु,' मेसीले गोलडटकमसंग कुरा गर्दै भनेका छन्,'अध्यक्षले मैले सिजनको अन्त्यमा क्लब छाड्ने वा बस्ने विषयमा निर्णय लिन सक्ने बताउँदै आएका थिए। अब म क्लबसंगै रहने छु। किनभने क्लब छाड्न ७ मिलियन युरोको रिलिज क्लज पूरा गर्नु पर्ने अध्यक्षको भनाइ छ। जुन असम्भव छ।'

मेसीले बार्सिलोनासँग सन् २०१७ मा २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए। सो सम्झौतामा चार वटै सिजनको अन्त्यमा चाहेको अवस्थामा क्लब छाड्न सक्ने बुँदा उल्लेख रहेको मेसीका वकिलको दाबी छ।

बार्सिलोनाले भने सिजनको अन्त्य जुन मध्यमा हुने भएकाले सो बुँदाको कानुनी आधार सकिएको बताउँदै गएको छ। कानुनी आधार सकिएको अवस्थामा मेसीलाई भित्र्याउन चाहने क्लबले ७ सय मिलियन युरो तिर्नु पर्ने भन्दै बार्सिलोनाले रिलिज क्लजको शर्त राखेको हो।

तर मेसीका वकिलले भने कोरोना भाइरसका कारण यो सिजनको अन्त्य अगस्टमा भएको दाबी गरेका छन्। त्यसैले मेसीले अहिले क्लब छाड्न सक्ने उचित समय रहेको मेसीका वकिलको दाबी छ।

'मैले १० जुनअघि क्लब छाड्ने कुरा क्लबलाई भन्न सकिन। किनभने त्यतिबेला ला लिगा सकिएको थिएन। कोरोना भाइरसका कारण ला लिगा बीचमै रोकिएको थियो,' मेसीको भनाइ छ,'क्लब छाड्न मसंग मुद्दा लाड्ने विकल्प छ। तर बार्सिलोनाविरुद्ध अदालत जान सक्दिन। किनभने बार्सिलोना मलाई सबैभन्दा मन क्लब हो। किनभने यसले मलाई सबैथोक दियो। यहि क्लवमा मैले जीवन बिताए। मैले आफ्नो जीवन पनि यहि बनाए। त्यसैले बार्सिलोनाविरुद्ध अदालत जाने कुरा सोच्न सक्दिन।'

मेसीले आफूले बार्सिलोना छाड्न चाहेको बताउँदा श्रीमती र छोराहरु दुखी भएको बताए। उनले भने,'मैले बार्सिलोना छाड्छु भन्दा सबै परिवार रोएका थिए। किनभने उनीहरु बार्सिलोना छाड्न चाहदैनन्।'

मेसीले बार्सिलोनाबाट सिनियर फुटबल खेल्न थालेको १६ वर्ष पूरा भइसकेको छ। मेसी सन् २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका थिए।

त्यसयता उनले क्लबका लागि दर्जनौ रेकर्ड बनाएका छन्। मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६३४ गोल गरेका छन्। उनले बार्सिलोनामा रहदा ३४ उपाधि जिते। जसमा १० ला लिगा र ४ च्याम्पियन्स लिगका उपाधि छन् ।

ला लिगाका सर्वाधिक गोलकर्ता मेसीले ४४४ लिग गोल गरिसकेका छन्। मेसीले सन् २०१२ को एकै सिजनमा क्लबका लागि सर्वाधिक ७९ गोल गरेर रेकर्ड बनाएका थिए।


#लियाेनल मेसी

प्रतिकृया दिनुहोस