२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

एक सातादेखि सुनकाे मूल्य घटेकाे घट्यै

बुधबार १०, भदौ २०७७ ०१:५८

एक सातादेखि सुनकाे मूल्य घटेकाे घट्यै

काठमाडाैं । नेपाली बजारमा पछिल्लो एक सातादेखि सुनकाे मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।

गत बुधबार प्रतितोला एक लाख ४०० पुगेको छापावाला सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ । एक सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार ६०० ले घटेको छ ।

महासङ्घका अनुसार बुधबार पनि छापावाला सुनको मूल्य प्रतितोला ४०० ले घटेको छ । बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला र ९६ हजार ३०० तोकिएको छ ।

मङ्गलबार छापालावा सुनको मूल्य प्रतितोला ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० थियो ।

यस्तै चाँदी पनि प्रतितोला रु १० ले घटेर तोलाको रु एक हजार ३१० पुगेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।

पछिल्ला केही महिनादेखि सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको थियो । नेपाली बजारमा गत साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ५०० र तेजाबी सुनको मूल्य एक लाख तीन हजार पुगेको थियो ।


#सुन

प्रतिकृया दिनुहोस