२०८१ बैशाख ०५ गते बुधबार | 17 April, 2024

क्यानले पारिश्रमिकका लागिआइसिसीलाई पठायो खेलाडीको सूचि (नामसहित)

बिहिबार ०४, भदौ २०७७ ०८:४०

क्यानले पारिश्रमिकका लागिआइसिसीलाई पठायो खेलाडीको सूचि (नामसहित)

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिक निकासाका लागि क्रिकेट खेलाडीको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पठाएको छ ।

आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले २३ जनाको नाम पठाएको हो । सन् २०१९ को पारिश्रमिकका लागि खेलाडीको सूची आईसीसीलाई पठाइएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताउनुभयो । यसअघि क्यान निलम्बनमा रहेको अवस्थामा पनि खेलाडीको पारिश्रमिक आईसीसीले नै उपलब्ध गराउँदै आएको थियो । आईसीसीले खेलाडीको सूची मागे पछि क्यानले पठाएको उनले उल्लेख गरे । 

आईसीसीले सन् २०१८ मा दुई वर्षको पारिश्रमिक राष्ट्रिय खेलकूद परिषद् (राखेप)मार्फत पठाएको थियो । त्यसयता खेलाडीले आफ्नो पारिश्रमिक पाउन सकेका छैनन् । क्यानले खेलाडीलाई पारिश्रमिकका लागि यसअघि तीन श्रेणीमा विभाजन गरेको थियो । त्यही अनुसार नै २१ खेलाडीका लागि आईसीसीले पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो ।

सन् २०१९ मा आईसीसीले २२ खेलाडी र एक भिडियो एनालिस्टका लागि पारिश्रमिक पठाउन लागेको प्याकुरेलले जानकारी दिनुभयो । क्यानले पठाएको खेलाडीको सूची क्यान निलम्बन फुकुवा हुनुअघिकै हो । 

सम्झौताअनुसार ‘ए’ श्रेणीमा रहेका खेलाडीले जनही ३५ हजार, ‘बी’ श्रेणीमा रहेका खेलाडीले जनही २५ हजार तथा ‘सी’ श्रेणीमा रहेका खेलाडीले जनही १५ हजार पारिश्रमिक पाउनेछन् । क्यानका अनुसार ए श्रेणीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषवाकर, वसन्त रेग्मी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन् । 

यस्तै बी श्रेणीमा करण केसी, शक्ति गौचन, आरिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र ललितसिंह भण्डारी तथा सी श्रेणीमा दिलिप नाथ, सुवास खकुरेल, सुनील धमला, सुशन भारी, किशोर महतो, विनोद भण्डारी र सागर पुन छन् ।

भिडियो एनालिस्टका रुपमा रमन शिवाकोटीको नाम आईसीसीलाई पठाइएको छ । यसपटक राजु रिजालको नाम थप गरिएको क्यानले जनाएको छ । 


#क्रिकेट

प्रतिकृया दिनुहोस