२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

शनिबार ३१, साउन २०७७ ०८:०७

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखले बार्सिलोनालाई लज्जास्पद हार चखाउँदै च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ ।

शुक्रबार राति लिस्बनमा भएको क्वाटरफाइनलमा बायर्नले बार्सिलोनालाई ८–२ को गोल अन्तरले हराएको हो ।

थोमस मुलरले खेलको चौथो मिनेटमा गरेको गोलबाट बायर्नले अग्रता लिएको थियो । खेलको ७औं मिनेटमा बायर्नका डेभिड अलाबाको आत्मघाती गोलबाट खेल बराबरीमा फर्किएको थियो । तर त्यसपछि भने स्पेनिस क्लब बार्सिलोनामाथि बायर्न लगातार हाबी देखियो ।

२१औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुऱ्याए । त्यस्तै २७औं मिनेटमा सर्गे जिएन्ब्रेले बार्यनका लागि तेस्रो गोल गरे ।

३१औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरे भने खेललाई ४–१ मा पुऱ्याए । लुइस स्वारेजले ५७औं मिनेटमा गोल गर्दै खेललाई २–४ मा पुऱ्याए । तर त्यसको ६ मिनेटपछि ६३औं मिनेटमा जोसुजा किमिचले बायर्नका लागि ५ औं गोल गरे । खेलको ८२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बायर्नका लागि छैटौं गोल गरे भने ८५औं र ८९औं मिनेटमा फिलिपे कौटिन्होले ७औं र ८औं गोल गरे ।

बार्सिलोना सन् १९४६ को कोपा डेल रेको फाइनलमा सेभियासँग ८ गोल खाएयता पहिलो पटक बायर्नसँगको खेलमा ८ गोल खाएको हो । त्यस्तै सन् १९५१ मा स्पेनिस लिगमा इस्पान्योलसँग ६–० को हार बेहोरेको बार्सिलोनाले त्यसयता ठूलो अन्तरको हार बेहोरेको छ ।


#फुटबल

प्रतिकृया दिनुहोस