२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

म्यानमारमा सेनाको ‘कू’ : टेलिभिजन, टेलिफोन र इन्टरनेट सेवा बन्द

- विशेष खबर सोमबार १९, माघ २०७७ ११:२३

म्यानमारमा सेनाको ‘कू’ : टेलिभिजन, टेलिफोन र इन्टरनेट सेवा बन्द
म्यानमारको सरकारी टेलिभिजन कार्यालयमा गरिएको सेनाको तैनाथी। तस्बिर : रोयटर्स

काठमाडौं । म्यानमारमा सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको छ । सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सु कीलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो ।

सेनाले म्यानमारकी स्टेट काउन्सिलर तथा विदेशमन्त्रीसमेत रहेकी सु कीसहित राष्ट्रपति विन मिन्टलगायतका नेतालाई पनि हिरासतमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । नेताहरुलाई पक्राउ गरेको केही घण्टापति सेनाले टेलिभिजनमार्फत म्यानमारको सत्ता आफ्नो नियन्त्रणमा रहेको र एक वर्षका लागि संकटकाल घोषणा गरिएको जनाएको छ । सेनाले म्यानमारको सत्ता सेनाप्रमुख मिन आङ ह्लाइङलाई सुम्पिएको जनाएको छ ।

सेनाप्रमुख ह्लाइङ २०७४ साल मंसिरमा नेपालको चारदिने औपचारिक भ्रमणमा आएका थिए । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका थिए । भ्रमणका क्रममा उनी लुम्बिनी पुग्नुका साथै माउन्टेन फ्लाइटमा पनि गएका थिए ।

सोमबार बिहान एनएलडीका प्रवक्ता म्यो न्युन्तले सु की, राष्ट्रपति मिन्टलगायतका नेताहरुलाई प्रहरीले हिरासतमा लिएको जानकारी दिएका थिए । उनले समाचार संस्था रोयटर्ससँगको कुराकानीमा भनेका थिए, ‘म नागरिकहरुलाई तत्काल कुनै पनि प्रतिक्रिया नदिन अनुरोध गर्दछु । उनीहरुलाई कानुनबमोजिम अगाडि बढ्न आग्रह गर्छु ।’

उनले केही समयमा आफूलाई पनि गिरफ्तार गरिन सक्ने जनाएका थिए । त्यसको केही समयपछि उनीसँग सम्पर्क हुन नसकेको पनि रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार सु कीको गिरफ्तारीबारे ह्वाटहाउसले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ब्रिफिङ गरिसकेको छ ।

गत नोभेम्बर महिनामा भएको चुनावमा सु कीको पार्टी एनएलडी प्रचण्ड मतसहित विजयी भएको थियो । तर सेनाले भने चुनावमा व्यापक धाँधली भएको दाबी गर्दै आएको थियो । तर म्यानमारको निर्वाचन आयोगले भने सेनाको दाबीको खण्डन आधारहीन भएको बताएको छ । सेनाले सोमबारका लागि निर्धारित संसद् बैठक स्थगित गर्न आह्वान गरेको थियो ।

बीबीसीका अनुसार राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको छ । त्यस्तै बीबीसी बर्मेली सेवाका अनुसार राजधानी याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।

सन् २००८ को संविधानअनुसार म्यानमारको संसद्मा सेनालाई २५ प्रतिशत सिट छुट्याइएको छ । सु की प्रशासनमै पनि सेनाले तीन वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएको थियो ।

म्यानमारमा सन् २०११ सम्म सेनाले प्रत्यक्ष रुपमा शासन गरेको थियो । उक्त समयमा सुकीलाई लामो समय घरमै नजरबन्दमा राखिएको थियो । उनलाई सन् १९८९ देखि २०१० सम्म नजरबन्दमा राखिएको थियो ।

सुकी म्यानमारका स्वतन्त्रता सेनानी जनरल आङ सानकी छोरी हुन् । उनी मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने व्यक्तिका रुपमा विश्वमै परिचित छिन् । प्रजातन्त्रको पुन:स्थापना र मानव अधिकारका लागि अहिंसात्मक तवरले लड्दै आएको भन्दै उनलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पनि दिइएको थियो । -एजेन्सीकाे सहयाेगमा


#म्यानमार #‘कू’

प्रतिकृया दिनुहोस