२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्याे– 'आगामी वर्ष विश्व अर्थतन्त्र झन् खराब हुन सक्छ'

- विशेष खबर बुधबार ११, साउन २०७९ ०४:०१

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्याे– 'आगामी वर्ष विश्व अर्थतन्त्र झन् खराब हुन सक्छ'

काठमाडौं । सन् २०२२ को तुलनामा २०२३ मा विश्व अर्थतन्त्र झन् खराब अवस्थामा पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मंगलबार ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व अर्थतन्त्र थप संकटग्रस्त अवस्थामा गइरहेको देखाएको हो । 

‘रुस–युक्रेन युद्ध, बढ्दो ऊर्जा र खाद्यान्न संकट, कोभिड रोकथामका लागि चीनले अन्तर्राष्ट्रिय व्यापारमा लगाएका कडा प्रतिबन्धलगायत कारण विश्व अर्थतन्त्र तीव्र गतिमा सुस्ताइरहेको छ,’ आईएमएफको प्रतिवेदनमा भनिएको छ । ‘माग र आपूर्तिको असन्तुलनले विश्वव्यापी मुद्रास्फीतिलाई बढाइरहेको छ ।’

सन् २०२१ मा ६.१ प्रतिशत रहेको विश्वको आर्थिक वृद्धिदर २०२२ मा ३.२ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ । त्यस्तै, सन् २०२३ मा थप खस्किएर २.९ प्रतिशतमा मात्रै सीमित हुने प्रक्षेपण मुद्रा कोषको रहेको छ । उन्नत अर्थव्यवस्था रहेका देशहरुको आर्थिक वृद्धिदर औसत १.४ प्रतिशत बराबर मात्रै प्रक्षेपण गरिएको छ । विश्वका तीन ठूला अर्थतन्त्र अमेरिका, चीन र युरोप क्षेत्र ठप्पप्राय हुनुलाई विश्वव्यापी अर्थतन्त्रकै समस्याका रुपमा हेरिएको छ । सन् २०२१ मा ५.७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको अमेरिकाले सन् २०२२ मा २.३ र सन् २०२३ मा १ प्रतिशत मात्रै आर्थिक वृद्धि गर्ने अनुमान मुद्रा कोषको छ । त्यस्तै, युरोपको अर्थतन्त्र सन् २०२२ मा २.६ प्रतिशत र सन् २०२३ मा १.२ प्रतिशत मात्रै वृद्धि हुने ठानिएको छ ।

उदाउँदो बजार र विकासशील अर्थतन्त्र भएको मुलुक ठानिएका चीन भारत र आसियान–५ भनिने इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र थाइल्यान्डको पनि आर्थिक वृद्धिदर सन् २०२२ मा औसत ३.६ प्रतिशत र सन् २०२३ मा ३.९ प्रतिशत रहने अनुमान गरिएको छ । चीनले सन् २०२२ मा ३.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने ठानिएकोमा सन् २०२३ मा ४.६ प्रतिशतको वृद्धि हासिल गर्नेछ । त्यस्तै, अर्को छिमेकी मुलुक भारतले यसवर्ष ७.४ र आगामी वर्ष ६.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको छ ।

गत अप्रिलयता विश्वव्यापी रूपमा विभिन्न समस्याहरु देखिरहेको छन् । विश्वका सबैजसो मुलुकहरूले चरम मूल्यवृद्धि खेपिरहेका छन् । अमेरिका र बेलायतमा मूल्यवृद्धि पछिल्लो ४० वर्षयताकै उच्च अंकमा पुगेको छ । यसवर्ष विश्वको मुद्रास्फीतिदर ८.३ सम्म पुग्ने अनुमान गरिएको छ । सन २०२२ र २०२३ मा विश्वव्यापी व्यापार वृद्धि पनि निकै सुस्ताउने अनुमान गरिएको छ । –इकान्तिपुरबाट


#अन्तर्राष्ट्रिय मुद्रा कोष #वर्ल्ड इकोनोमिक

प्रतिकृया दिनुहोस