- विशेष खबर शुक्रबार ०७, माघ २०७८ ०२:४९
दार्चुला । माघ लागेसँगै चिसाे झन् बढेकाे छ । सातायता घाम कम लाग्न थालेकाे छ । दिनभर बादलले अाकाश झुम्म हुँदा दार्चुलाका बासिन्दालाइ भने फाेन सेवा बन्द हुने चिन्ता पर्छ ।
मौसममा बदली भएपछि जिल्लाको सदरमुकाममै पनि सञ्चारविहीन हुने अवस्था छ । दुर्गम ठाउँमा त राति फोन सम्पर्क नै हुँदैन । हिउँदे सिजनमा लगातार दुई दिनभन्दा बढी मौसममा बदली भए विगत दुई/तीन वर्षदेखि पुरै जिल्ला सञ्चारविहीन हुने गर्छ ।
नेपाल टेलिकमकाे मुख्य रिपिटर टावर रहेको बालशिखरमा मौसममा समस्या आए रातिको नेटवर्क जाने टेलिकम कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका अन्य टावरमा विद्युत्को समस्याले नेटवर्कविहीन हुनु परेकाे छ । बालशिखर टावरमा सोलार र बिजुली जडान भए पनि कहिलेकाहीं दुवैमा समस्या आउने गरेको टेलिकमका कर्मचारी बताउँछन् ।
जिल्लाका अधिकांश ठाउँका नेपाल टेलिकमका टावर सोलार उर्जाबाट सञ्चालन भएका छन् । सोलार प्रणालीबाट सञ्चार सेवा सञ्चालन गरिएकाले मौसममा बदली हुने बित्तिकै फाेन र इन्टरनेट सेवा प्रभावित हुने गरेको नेपाल टेलिकम दार्चुलाका एक कर्मचारीले बताए ।
जिल्लाका अधिकांश टेलिफोन टावर सोलार प्रणालीबाट नै सञ्चालनमा ल्याइएकाले राति धेरैजसाे बस्ती सम्पर्कविहीन हुन पुग्छन् । अपिहिमाल, मार्मा, लेकम, दुहु, नौगाड र व्यास गाउँपालिकाका धेरै गाउँमा घाम लागेपछि मात्र सञ्चार सम्पर्क गर्न सकिन्छ । ‘दुर्गम बस्तीको सञ्चार सेवा घामको भरमा चलेको नौगाड गाउँपालिका–१ इयरकोटका नन्दनबहादुर बम बताउँछन् ।
मार्मा गाउँपालिकाका अधिकांश बस्तीमा बिहान १० बजेपछि मात्र फोनको टावर आउँछ । स्थानीय दिपेन्द्र बिष्टका अनुसार गाउँमा बिहान ८ बजे घाम लाग्ने भए पनि टावर भएको ठाउँमा ढिलो घाम लाग्दा १० बजेसम्म गाउँ नै सम्पर्कविहीन हुने गर्छ । मौसममा बदली भए त घाम नलागेसम्म कुरा गर्न सकिँदैन ।
त्यस्तै, अपिहिमाल गाउँपालिकामा रातिको समयमा मोबाइल नेटवर्क नहुँदा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन । सौर्य ऊर्जाको भरमा सञ्चालित खण्डेश्वरीस्थित नेपाल टेलिकमको टावरले घाम नलागेको दिन दिउँसोसमेत प्रभावकारी ढंगले काम गर्दैन । दिनभरि घाम लागे पनि राति १०–११ बजेसम्म मात्रै फोनमा सम्पर्क गर्न सकिने त्यसपछि सञ्चारविहीन भइने खण्डेश्वरीका स्थानीय राईकिशन रोकायाले बताए । मोबाइलमा राति गएको टावर बिहान घाम लागेपछि मात्रै आउँछ । हिउँदे सिजनमा मौसममा लामो बदली भए एक हप्ताभन्दा बढी समयसम्म गाउँहरू सम्पर्कविहीन हुने गरेका छन् ।
प्रतिकृया दिनुहोस