२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

देशभर हिउँदे वर्षा, डाँडाकाँडामा हिमपात

- विशेष खबर बुधबार १४, पुष २०७८ ०८:३४

देशभर हिउँदे वर्षा, डाँडाकाँडामा हिमपात
बैतडीकाे खाेड्पेमा परेकाे हिउँ । तस्बिर साैजन्य : माेहन बिष्ट

काठमाडौं । आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि रातिदेखि नै हिमपात सहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । काठमाडौंको चन्द्रागिरि डाँडामा पनि मिर्मिरेमा बाक्लै हिमपात भएको छ । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।

गए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ ।

हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ । जाडोका कारण जनजीवन कष्टकर भएको डोल्पाको कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिए ।

बिहानै घाँस सङ्कलन गर्ने काम ठप्प भएपछि पशुचौपायलाई खुवाउने आहाराका लागि समस्या भएको स्थानीयले बताएका छन् । चिसो अत्यधिक बढेपछि पठनपाठन प्रभावित बनेको छ । नियमित पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ ।


प्रतिकृया दिनुहोस