२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

'प्रतिनिधिसभा बैठक अघि संसद्‌लाई कोरोना खोप'

- विशेष खबर आइतबार १६, फागुन २०७७ ०७:३७

'प्रतिनिधिसभा बैठक अघि संसद्‌लाई कोरोना खोप'
तस्बिरः रासस ।

काठमाडौं । संघीय संसद्‌को आगामी अधिवेशन पहिला नै कोरोना खोप लगाइने भएको छ । संघीय संसद् सचिवालयले कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारसँग सहकार्य गरेर सांसद र संसद् भवनभित्र प्रवेश गर्ने कर्मचारी र मर्यादापालकहरूलाई कोरोना खोपको व्यवस्था गर्न लागिएको हो ।

संघीय संसद् सचिवालय, सिंहदरबारका स्वास्थ्य इकाई प्रमुख डा. पुष्पराज रिजालका अनुसार सांसद्, कार्यव्यवस्थामा रहेका अधिकारी र मर्यादापालक एवं कर्मचारी गरेर करिब एक हजार ४ सयभन्दा बढीका लागि खोपको व्यवस्था गर्न लागिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका झन्डै ३ सय ३० सांसद छन् । १ सय ३० भन्दा बढी मर्यादापालक र संसद् भवनमा प्रवेश गर्ने अन्य कर्मचारी गरी झन्डै १४ सय जनालाई कोरोना खोपको व्यवस्था गर्न लागिएको हो ।

डा. रिजालका अनुसार फागुन १९ गते, २० गते र २१ गते नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसद र संसद्सँग सम्बन्धित व्यक्तिहरूलाई खोप लगाउने तयारी भएको छ । सरकारले फागुन २३ गतेदेखि ५५ वर्षमाथिका नागरिकलाई कोरोना खोप लगाउने तयारी गरेको र सोही अभियानलाई मध्यनजर गरेर सांसदहरूलाई पनि खोप लगाइने भएको हो ।

संसद् सचिवालयका अनुसार प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि सांसदहरूलाई खोपको व्यवस्था गर्नुपर्ने माग गरेको थियो । प्रतिनिधिसभामा मात्रै १ सय १३ जना सांसद ५५ वर्ष माथिका रहेको संसद् सचिवालयले जनाएको छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रहेका भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे र स्वास्थ्य सेवा विभागका खोप प्रमुख डा. झलक गौतमले संसद् भवनमा भइरहेको सिट व्यवस्थापनबारे र आगामी दिनमा अपनाउनुपर्ने स्वास्थ्य सतर्कताबारे सभामुख अग्निप्रसाद सापकोटलाई सुझाव दिएका थिए ।

डा. पाण्डेले ५० प्रतिशतभन्दा बढी सांसद ५० वर्षभन्दा बढी उमेरका र दीर्घरोग लागेका भएकाले कोरोना सम्बन्धी स्वास्थ्य सतर्कता अपनाउनुपर्ने सुझाव दिएको बताए । 'मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने, १ मिटरको दूरी कायम गर्नुपर्ने र सकेसम्म चाँडो खोप लगाउँदा राम्रो हुन्छ भनेर सुझाव दिएका छौं,' उनले भने, '५० प्रतिशतभन्दा बढी सांसद ५० वर्षभन्दा माथिका हुनुहुन्छ र उहाँहरूलाई विभिन्न खाले दीर्घरोगहरू पनि रहेको तथ्यांक संसद् सचिवालयसँग रहेछ ।' प्रतिनिधिसभा बैठक कक्षमा दूरी कायम गरेर सिट व्यवस्थापन गर्नुपर्ने उनले सुझाएका थिए ।


#संघीय संसद् #कोरोना खोप

प्रतिकृया दिनुहोस