२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

तारकेश्वरमा फेरि देखियो बर्ड फ्लु

- विशेष खबर शुक्रबार ३०, माघ २०७७ १२:०४

तारकेश्वरमा फेरि देखियो बर्ड फ्लु

काठमाडौं । झन्डै दुई साताअघि काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला फुटुङका किसानले पालेका टर्की र हाँसमा बर्ड फ्लु रोग (एच५एन८) पुष्टि भयो ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइप पीसीआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएपछि त्यस क्षेत्रमा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अन्डा र ७५ किलो दाना नष्ट गरियो । त्यसपछि बर्ड फ्लु नियन्त्रणमा रहेको दाबी गरेको सरकारले दुई साता नबित्दै फेरि सोही क्षेत्रमा बर्ड फ्लु देखिएको छ ।

तारकेश्वर नगरपालिका–१ मा पालेका हाँसमा बुधबार बर्ड फ्लु देखिएको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए । ‘शंकास्पद रूपमा कुखुरा मरेपछि निगरानी भइरहेको थियो । बुधबार बेलुका बर्ड फ्लु भएको पुष्टि भयो,’ उनले भने, ‘बुधबार राति पन्छी नष्ट गरेर नियन्त्रण गर्न सकेनौं । सबै प्रक्रिया पुर्‍याएर बिहीबार नियन्त्रणमा लिएका छौं ।’

विभागका अनुसार हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गरिएको थियो । परीक्षणको क्रममा बर्ड फ्लु प्रमाणित भएको हो । रोग अन्यत्र फैलिन नदिई र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकाय परिचालन गरिएको विभागले जनाएको छ ।                                                                        रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको विभागले बताएको छ । ‘यस क्रममा १४ सय २१ वटा हाँस, ४२ वटा लोकल कुखुरा, २६ अन्डा र ८ सय किलो दाना नष्ट गरेका छौं,’ ढकालले भने, ‘रोग देखापरेको क्षेत्रलाई पूर्ण निःसंक्रमणसमेत गरिसकेका छौं ।’ त्यस क्षेत्रमा रोग पूर्ण रूपमा नियन्त्रण रहे पनि निगरानीलाई निरन्तरता दिइएको विभागले बताएको छ । बर्ड फ्लु मुख्यतः चराबाट बसाइँ सराइका क्रममा सर्ने जानकार बताउँछन् ।                                                                                                    बर्ड फ्लु निमोनिया, रुघाखोकीजस्तै भएकाले चिसोमा बढी असर गर्छ । यसका लागि सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ । नेपालमा २०६० सालमा झापाबाट बर्ड फ्लु सुरु भएको हो । दुई वर्षअघि विराटनगर र रसुवामा करिब २२ हजार कुखुरा नष्ट गरिएको थियो । अहिले फेरि देखिन थालेको छ । अहिले देखिएको बर्ड फ्लु तुलनात्मक रूपमा कमजोर अनुमान गरिएको छ । यही रोगकै कारण सर्वसाधारणमा कुनै असर नदेखिएको ढकालले जानकारी दिए ।


#बर्डफ्लु

प्रतिकृया दिनुहोस