२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

फेवातालबाट ५ करोड ८० लाख लिटर पानी बहेर गयो, अब कहिले भरिएला ?

सोमबार २६, माघ २०७७ ०२:५६

फेवातालबाट ५ करोड ८० लाख लिटर पानी बहेर गयो, अब कहिले भरिएला ?

पेखरा । फेवाताल किनारा अहिले ठूलो बाढीपछि बनेको बगर जस्तो देखिन्छ। यस्तो दृश्यले फेवाताल घुम्न गएका पर्यटकको मन यसअघि जस्तो मोहित भएन। उल्टै मन दुखायो। तालको पानी १ मिटर मात्र घटाउँदा पनि फेवातालको ठूलो भाग बगरमा परिणत हुन पुग्यो।

जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीले तालको बाँध मर्मत गर्न पानी घटाएको जनाएको छ। कार्यालयले गत वर्ष नै तालको बाँधबारे अध्ययन गरेको थियो। अध्ययनका क्रममा बाँधमा राखिएको रवरशील काम नलाग्ने अवस्थामा पुगेको कार्यालय प्रमुख किरण आचार्यले बताए। रवरशील काम नलाग्ने अवस्थामा पुगेकै कारण बाँधबाट धेरै पानी चुहेर बगेको थियो।

अध्ययनका क्रममा बाँध भन्दा पछाडिको भाग पनि काम नलाग्ने गरी भत्किएको पाइएको आचार्यले बताए। गत वर्ष गरेको अध्ययन अनुसार मर्मत सम्भारका लागि तालको पानी घटाएको उनले जानकारी दिए। शुक्रबार दिनभर बाँधका ४ वटै ढोका खोलेर पानी बगाउँदा साँझसम्म १ मिटर पानी घटिसकेको छ। अहिले भने बाँध मर्मतको काम भइरहेको आचार्यले बताए।

बाँध मर्मत गर्न अहिले पनि पानी धेरै भएको छ। अझै ३ मिटर गहिरो तालमा डुबेर बाँध मर्मत गर्नुपर्ने अवस्था छ। तालको पानी २ मिटर घटाउने लक्ष्य लिए पनि फेवाताल घुम्न आउने पर्यटक र स्थानीयले मन दुखाएकै कारण पानी नघटाई मर्मत अघि बढाएको आचार्यले बताए। ‘हाम्रा कामदारहरू पानीभित्र डुबेर पुरानो रवरशील झिक्ने, नटबोल्ट काट्ने काम गरिरहनुभएको छ’, उनले भने, ‘यसरी काम गर्न सकिएन भने अझै १ मिटर पानी घटाउनुपर्ने हुनसक्छ।’

अब १ मिटर पानी घटाउँदा फेवातालको आधा भन्दा बढी भू–भाग जमिन देखिने अनुमान गरिएको छ। फेवातालको वीचमा रहेको बाराही मन्दिर जान अहिले पनि केहीबेर डुङ्गा चढ्नुपर्छ। थप १ मिटर पानी घटाइयो भने बाराही मन्दिर हिँडेरै जान सकिने तालमाथि देखिएको मन्दिर जमिन माथि देखिने आचार्यले बताए।

फेवातालमा पहिलो पटक २०१८ सालमा बाँध बाँधिएको थियो। जसले तालको क्षेत्रफल बढाउनुका साथै सौन्दर्य पनि थपेको थियो। उक्त बाँध २०३१ सालमा फुटेपछि यस्तै अवस्था आएको थियो। त्यतिबेला बाराही मन्दिर हिँडेरै जान सकिने अवस्था थियो।

भारतीय सहयोग मिसनको १५ लाख रूपैयाँ सहयोगमा बनाइएको पहिलो बाँध फुटेपछि संयुक्त राष्ट्र संघीय नियोग युएनडिपीको सहयोगमा यो बाँध बाँधिएको हो। २०३४ सालदेखि शुरू गरेर २०३९ सालमा यो बाँध निर्माण पुरा भएको थियो। त्यसयता बाँधको मर्मत सम्भार र अध्ययन हुन सकेको थिएन। 

जलस्रोत तथा सिचाईँ विकास डिभिजन कार्यालय कास्कीका प्रमुख आचार्यका अनुसार फेवातालको क्षेत्रफल अहिले ५ दशमलब ८ वर्गकिलोमिटर छ। यतिका क्षेत्रफलबाट १ मिटर पानीको मात्रा घटाउँदा ५ करोड ८० लाख लिटर पानी बगाउनुपर्छ। बाँध मर्मत गर्न फेवातालबाट उक्त परिमाणमा पानी बगाएको हो। 

गण्डकी प्रदेश सरकारले बाँध मर्मत र नहर मर्मत गर्न २ करोड बजेट छुट्याएको थियो। त्यहीँ बजेटबाट नहर मर्मतमा १ करोड खर्च भइसकेको र १ करोड खर्चेर अहिले तालको बाँध मर्मत भइरहेको आचार्यले जानकारी दिए। बाँध मर्मतको काम १ महिनाभित्र सकिने उनले जानकारी दिए।

 

 


प्रतिकृया दिनुहोस