२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

राजधानीमा बढ्यो वायु प्रदूषण, अनावश्यक घर बाहिर ननिस्कन विभागकाे अनुराेध

- विशेष खबर मङ्गलबार २१, पुष २०७७ ०३:५६

राजधानीमा बढ्यो वायु प्रदूषण, अनावश्यक घर बाहिर ननिस्कन विभागकाे अनुराेध

काठमाडाैं । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ ।

विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा बंगलादेशको ढाका, सातौंमा भारतको मुम्बई छ । प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अध्यावधिक विवरण अनुसार एअर क्वालिटि इन्डेक्स (एक्यूआई) ४०२ छ । गएराति काठमाडौंका विभिन्न क्षेत्रमा एक्यूआई ६०७ पुगेको थियो । ३०१ देखि ५०० सम्मको एक्यूआई सूचकलाई खतरनाकको सूचीमा राखिएको छ ।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अध्यावधिक विवरण अनुसार एअर क्वालिटि इन्डेक्स (एक्यूआई) ४०२ छ । गएराति काठमाडौंका विभिन्न क्षेत्रमा एक्यूआई ६०७ पुगेको थियो । ३०१ देखि ५०० सम्मको एक्यूआई सूचकलाई खतरनाकको सूचीमा राखिएको छ ।

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार यो प्रदूषण भन्दा पनि मौसमको कारणले भएको हो । उनले भने,'प्रदूषण त छ । अस्तिसम्म प्रदूषणका कणहरु डिस्पर्सल भइरहेको थियो । अहिले जान नसकेर थुप्रिएको जस्तो लागेर धुम्म देखिएको होला । यो सिजन यस्तै हुने हो तर यसपालि अलि बढी देखियो । यदि अलि अलि पानी पर्ने हो भने घट्छ । किनकी अरुबेला भन्दा गाडी कम चलेको नै छ । इँट्टाभट्टा कम नै चलेका छन् । त्यसबाहेक हामीले प्रचारप्रसार गर्ने काम पनि गरिरहेका छौँ ।'

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरुलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ ।

यसैबीच, वातावरण विभागले बिहान र बेलुकाको समयमा वायु प्रदूषण अत्याधिक बढेको जनाएको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै बालबालिका,वृद्धवृद्धा,दीर्घ रोगी,मुटुका समस्या भएका व्यक्तिहरुलाई प्रदूषणले बढी प्रभावित पार्ने भएकाले घर बाहिर ननिस्कन र बाहिर निस्कँदा विशेष सावधानी अपनाउन अनुरोध समेत गरेको छ ।

विभागका वातावरण निरीक्षक भुपेन्द्र शर्मा भन्छन्,'काठमाडौं उपत्यकाको सन्दर्भमा हेर्ने हो भने यो उपत्यका कचौरा आकारको छ । चिसोले गर्दा तलको बाक्लो हावा र माथिको पातालो हावाले प्रदूषण बढी भएको देखिन्छ । जाडोमा जमिनको धुलोको कणहरु उडेर माथि जान सक्दैनन् । '

जाडो महिनामा गर्मी भन्दा बढी इँट्टाभट्टाहरु चल्ने र लकडाउन हटेसँगै सवारी साधानको चाप पनि बढेपछि प्रदूषण बढेको विज्ञहरु बताउँछन् । यो अवस्था अझै केही दिन रहने दासले बताए । पुसबाट माघ महिनामा वायुको तापक्रम अलि बढ्ने पनि उनले बताए ।

तिलगंगा आँखा प्रतिष्ठानका कन्सल्टेन्ट एवम् अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजुले वायु प्रदषणले आँखामा मात्र नभएर शरीरको सबै भागमा असर पार्न सक्ने बताउँछन् । आँखालाई सुख्खा बनाउने, पोल्ने रसिलो हुने, रातो हुने , बिझाएको जस्तो अप्ठ्यारो महसुस गराउन सक्ने उनले बताए । उनले प्रदूषणबाट बच्न कालो चस्मा लगाउने, दिनमा दुईतीन पटक सफा पानीले आँखा पखाल्ने र आँखा धेरै सुख्खा भयो भने ‘आइ ड्रप’ हाल्न सुझाव दिए । यस्ता समस्याहरु बल्झिएमा नजिकैको आँखा केन्द्रमा सम्पर्क राख्‍न पनि उनले अनुरोध गरे ।

वातावरणविद् भूषण तुलाधरले मौसम धुम्मिएका कारण पनि प्रदूषणको मात्रा बढ्न गएको बताए । 'सबै प्रदूषण कचौरा आकारको उपत्यकामा भरिएको छ', तुलाधरले भने, 'चिसोका कारण तातोका लागि आगो बाल्नेलगायतका गतिविधि पनि बढेको छ । वायु प्रदूषणका स्रोतहरु बढे, तर प्रदूषण कहीं जान पाएन ।' ‘बाहिरबाट काठमाडौं खाल्डोमा प्रदूषण भित्रिन्छ,’ तुलाधरले भने, ‘स्थानीय रूपमा पनि वायु प्रदूषण उत्सर्जन हुन्छ, जुन कचौराजस्तो उपत्यकामा लामो समय तैरिएर रहन्छ।’

उनका अनुसार जाडो (हिउँद) मा त्यसै पनि वायु प्रदूषण वर्षायाममा भन्दा ४–५ गुणा बढी हुन्छ। जाडोमा बिहान ८ देखि १० बजेसम्ममा वायु प्रदूषण बढी हुन्छ । विज्ञहरूका अनुसार जाडो मौसममा पानी नपर्ने र हावा नचल्ने भएकाले प्रदूषण बढेको हो । 'काठमाडौं उपत्यका कचौरा आकारको भएकाले जाडोयाममा धूलोको कण तल्लो भागमा तैरिएको हुन्छ', तुलाधरले भने ।

अमेरिकाको हार्वड युनिभर्सिटी र जर्मनीका वैज्ञानिकहरूले अमेरिका र चीनमा चार महिनाअघि गरेको अध्ययनअनुसार वायु प्रदूषण बढी भएका स्थानमा बस्नेहरूमा कोभिड–१९ संक्रमण बढी हुने देखिएको छ । उक्त अध्ययनले कोभिड–१९ बाट भएका मृत्युमध्ये १५ प्रतिशतको मुख्य कारण वायु प्रदूषण नै रहेको ठम्याएको छ ।

काठमाडौं उपत्यकामा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । उपत्यकामा साना–ठूला गरी १२ लाख सवारीसाधन गुड्छन् । सडकको धूलोसमेत अर्को स्रोत हो । फोहोर र कृषिजन्य अवशेष बाल्दाको धूवाँ, इँटाभट्टा, घरभित्र दाउरा र गुइँठाबाट निस्किने धूवाँ पनि वायु प्रदूषणका स्रोत हुन् ।


#राजधानीमा बढ्यो वायु प्रदूषण #वातावरण विभाग

प्रतिकृया दिनुहोस