२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

कोरोना भाइरसबाट गर्भवती महिलालाई के कति जोखिम ?

- विशेष खबर मङ्गलबार ०९, भदौ २०७७ ०८:४२

कोरोना भाइरसबाट गर्भवती महिलालाई के कति जोखिम ?

अमेरिकन कलेज अफ अब्स्ट्रेसियन्स् एन्ड गाइनोकोलोजिस्टको एक अनुसन्धानअनुसार हालसम्मको तथ्यांकले गर्भवतीहरू कोभिडको उच्च जोखिममा छैनन् ।

तर श्वासप्रश्वासको संक्रमणले उनीहरूको स्वास्थ्यमा बाधा पुग्ने सम्भावना रहने अध्ययनहरूमा उल्लेख छ ।

गर्भावस्थाका बेलामा शरीरमा विभिन्न परिवर्तन हुने हुँदा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ, त्यसैले संक्रमण हुन सक्छ । कोभिडकै कारणले गर्भपात हुने सम्भावना नदेखिए पनि अरु बिरामीका कारण भने त्यो सम्भावना रहन सक्छ ।

सन् २००२–२००३ को महामारीका बेला भाइरस लागेका र सिकिस्त अवस्थामा रहेका केही महिलामा गर्भपातको उच्च जोखिम देखिएको थियो । गर्भावस्थामा श्वासप्रश्वासको भाइरल संक्रमणले कम तौल भएको शिशु तथा समय नपुग्दै बच्चा जन्मिनसक्ने हुन्छन् । साथै उच्च ज्वरोले केही समस्या गराउन सक्छ ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मनोर दिन सैयद भन्छन्, ‘यस्तो अवस्थामा महिलामा प्रतिरक्षा प्रणाली अरुभन्दा कमजोर रहने गर्छ, उनीहरूलाई सर्नसक्ने सम्भावना भए तापनि धेरै तनाव लिनुहुन्न । तनावले बरु जोखिम निम्त्याउन सक्छ ।’

के आमाको पेटमा रहेको शिशुलाई संक्रमण सर्छ ?

विभिन्न अध्ययनका अनुसार आमाबाट पेटमा रहेको शिशुलाई कोरोना भाइरस नसरेको पाइएको छ । बरु बच्चा जन्मेपछि कोरोना संक्रमित व्यक्तिसँगको सम्पर्कमा रहँदा सरेको भेटिएको छ ।

भर्खर जन्मेका बच्चामा प्रतिरक्षा प्रणाली बनिसकेको हुँदैन, उनीहरूले एन्टिबडी आफ्नो आमाबाट प्राप्त गर्छन् । 

नवजात शिशुहरूमा कोरोना भाइरस संक्रमण भएका केही केस फेला परेका छन् । उनीहरूलाई आमाकै पेटमा संक्रमण भयो वा जन्मिएपछि बाहिरी सम्पर्कका कारण भयो भन्नेबारेमा चिकित्साविद्हरू अनुसन्धानकै क्रममा छन् ।

गर्भावस्थामा जाँच गर्न अस्पताल जाने कि नजाने ?

गर्भावस्थामा कम्तीमा चारपटक फलोअपका लागि जानुपर्ने हुन्छ, कुनै समस्या परेमा त्योभन्दा बढी पनि जानुपर्ने हुन्छ । प्रसूति रोग विशेषज्ञ डा. ज्वाला थापाका अनुसार जो महिला आफ्नो फलोअप डेट नजिकिँदै छ, चिन्तित हुनुहुन्छ भने फोनबाटै चिकित्सकको परामर्श लिन सक्नुहुन्छ । अहिले विभिन्न अस्पतालले हटलाइन उपलब्ध गराएका छन् ।

चिकित्सकका अनुसार गर्भवती महिलाले घरमै आफ्नो रक्तचाप र मधुमेहको जाँच गर्न सक्छन् । साथै टेलिमेडिसिनको माध्यमबाट चिकित्सकसँग सल्लाह–सुझाव लिन सक्छन् ।

विभिन्न अस्पतालले संक्रमण घटाउने उपायहरू अपनाएका छन् । अस्पतालमा जोखिम फैलिन नदिन सम्पूर्ण मेडिकल स्टाफहरूलाई पनि स्क्रिनिङ गर्न जरुरी देखिन्छ । साथै कुरुवाहरू पनि सकेसम्म कम गर्नुपर्छ । न्यूयोर्कको केही अस्पतालमा कोरोना भाइरसको जोखिम बढेसँगै ‘नो भिजिटर पोलिसी’ अपनाइएको छ ।

सरसफाइमा ध्यान दिने

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन अमेरिकाका अनुसार जो महिला कोरोना पोजिटिभ देखिएका छन्, तिनका बच्चाहरूलाई आइसोलट गरेर राख्न सुझाव दिइएको छ । ६ फिटको दूरीमा पर्दा लगाएर छुट्टै राख्न सकिन्छ आमा र शिशुलाई । हात राम्ररी धुने, पञ्जा तथा मास्क लगाएर आमाले शिशुलाई स्तनपान तथा स्याहार गराउन सक्छिन् । स्तनपान गराउँदा भाइरस सरेको भन्ने तथ्यांक अहिलेसम्म रहेको छैन तर पनि केही सावधानी भने अपनाउन जरुरी देखिन्छ । एन्टिबडी प्रोटेक्सनका लागि पनि शिशुलाई स्तनपान गराउनुपर्छ ।

गर्भावस्थाका बेला महिलाको शरीरमा निकै परिवर्तन देखा परिरहेको हुन्छ । आफूलाई संक्रमण भएको हो कि भन्ने आशंकासमेत लाग्न सक्छ । त्यसैले शारीरिक र मानसिक रुपमा आफूलाई स्वस्थ राख्नुपर्छ । केही शंका वा डर लागेमा टेलिफोनमार्फत चिकित्सकसँग परामर्श लिनुपर्छ । त्यसका अलावा हात सफा राख्ने, सामाजिक दूरी र व्यक्तिगत दूरी कायम राख्ने गर्नुपर्छ । त्यस्तै नियमित रुपमा चिकित्सकको सम्पर्कमा रहिरहन पनि अति आवश्यक छ ।

सरकारले संक्रमण फैलिन नदिन लकडाउन गरेको छ । त्यसैले केही आवश्यक सामान घरका सदस्यबाटै मगाउनुपर्छ । आफू बाहिरी वातावरणको सम्पर्कमा आउनु हुँदैन । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सैयदका अनुसार सरकारले वडा–वडामा गर्भवतीहरूलाई अस्पताल जान सहज व्यवस्था बनाइदिन आवश्यक छ । घरबाट अस्पताल लैजान सक्नेसम्मका सुविधा दिए उनीहरूलाई केही सहज हुने उनी बताउँछन् ।

गर्भवती महिलाले कस्तो सावधानी अपनाउने ? यस्तो छ चिकित्सकको सल्लाह

  • पटक–पटक साबुन पानीले हात धुने र बिरामी व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने ।
  • हाच्छिउँ गर्दा टिस्यु पेपरले मुख छोप्ने ।
  • आफ्नो वरिपरिको वातावरण नियमित सफा गर्ने ।
  • कामकाजी महिलाले घरबाटै काम गर्ने ।
  • प्रशस्त मात्रामा पानी खाने ।
  • पौस्टिक आहारविहार खाने ।
  • महामारी नसकिँदासम्म बालबच्चालाई बाहिर समाजमा ननिकाल्ने । भर्खर जन्मेका बच्चालाई धेरैले छुने तथा बोक्न खोज्ने हुनाले संक्रमणको सम्भावना हुन्छ ।
  • सोसल डिस्टेन्सिङ मेन्टेन गर्ने ।
  • फलोअपको समयमा इमरजेन्सी नपर्दासम्म फोनबाट परामर्श लिने । अत्यावश्यकबाहेक अस्पताल नजाने ।

एजेन्सीकाे सहयाेगमा
 


#गर्भवती महिलामा काेराेनाकाे जाेखिम

प्रतिकृया दिनुहोस