- विशेष खबर आइतबार ०७, भदौ २०७७ ०२:२८
बैतडी । सुदूरपश्चिमको प्रमुख चाँड गौरा पर्व घर–घरमा बिरुडा भिजाएर आइतबारदेखि सुरु भएको छ। कोरोना संक्रमणको जोखिमका कारण स्थानीय प्रशासनले कतिपय ठाउँमा निषेधाज्ञा जारी गरेकाले घरघरमै गाैरा मनाइदैछ।
भाद्र कृष्णाष्टमीका दिन मनाइने गौरा पर्व यस क्षेत्रको प्रमुख चाड मानिन्छ। गौराको पहिलो दिन पञ्चमीबाट सुरू हुन्छ । पञ्चमीका दिन ब्रत बसेका महिलाहरू पानीकाे मूल, धारामा गएर बिरुडा (केराउ, गहत, गुरास, मास र गहुँ मिसाएर बनाइने) भिजाउँछन्।
दोस्रो दिन पनि त्यही ठाउँमा गएर बिरुडा धुने र गौरादेवी (पार्वती) को प्रतिमा बनाएर पूजा गर्ने चलन छ । सप्तमीका दिन पनि दिनभर ब्रत बसेर बिरूडा र फलफूलले गौरा घरभित्र पार्वती र महेश्वरकाे प्रतिमाकाे पूजा गर्छन् । त्यसैदिन महिलाहरूले लगाउने दुबधागाे पनि गाैरादेवीलाइ चढाइन्छ । भाेलिपल्टबाट त्यही दुबधागाे वर्षदिनसम्म घाटीमा बाँध्ने चलन छ ।
अष्टमीका दिन मुख्य गाैरा मानिन्छ । यसलाई ठूली गाैरा तथा अठेवाली भन्छन् । याे दिन महिलाहरु गाैराखलाे (धार्मिक स्थल) मा गएर अठेवाली गाउँदै गौरा खेलाउने गर्छन्। साँझतिर अघिल्लाे दिन चढाएका फलफूल तथा सामानहरू माथि फाल्ने र आकाशबाटै चुम्ने चलन छ । यसरी भूइँमा नखस्दै टिपेकाे फल घरभित्र राखे धनसम्पत्ति बृद्धि हुने र राेगब्याधि नलाग्ने विश्वास गरिन्छ ।
त्यसपिछ पूजा गर्न प्रयाेग भएका बिरुडाले सानादेखि ठूला सबै आफन्तहरुको पूजा गर्छन्। पुरूषहरू भने गाैरमा देउडा खेल्ने चलन छ । सबै पुरूषले यसदिन गाैरा हुने ठाउँ (गाैरा खलाे) मा टेक्न अनिवार्य जस्तै हुने स्थानीय बताउँछन् ।
त्यही दिनबाट पुरूषहरूले पनि खेल, चैतालाे, धुमारी, देउडा खेल्छन् । समूहमा मिलेर खेल र चैतालाेमा बिभिन्न देवीदेउताका कथा, धार्मिक तथा सांस्कृतिक इतिहास गीतका रूपमा गाउने चलन छ । अठेवालीका दिनबाट लगातार एक सातासम्म पालैपालाे गाउँ गाउँ पुगेर खेल्छन् ।
गाैरामा नयाँ लुगा फेर्ने चलन पनि छ । केही वर्षअघिसम्त सबैजसाे घरबाछ भारतीय सीमावर्ती सहर जाेलजिवी, झुलाघाट, पिथाैरागढ गएर लुगा किन्ने चलन थियाे । अहिले त्यहा पुग्नेकाे संख्या थाेरै मात्र छ । हरेकजसाेले नयाँ लुगा र चप्पल फेर्न गाैरा कुर्नुपर्थ्याे । केटाकेटीहरू गाैरा नजिकिए नयाँ लुगा पाउने आशले फुरूङ भएका हुन्थे ।
प्रतिकृया दिनुहोस