२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

पालिका अध्यक्षले दिए दीर्घरोगीका हातैमा औषधि

मङ्गलबार ३०, असार २०७७ ०८:३५

पालिका अध्यक्षले दिए दीर्घरोगीका हातैमा औषधि

दार्चुला । ब्यास गाउँपालिका १ छाङ्गरु र तिंकर गाउँका दीर्घ रोगीका बिरामीले घरमै औषधि पाएका छन् । कोरोनाका कारण औषधि सेवन गर्न नसकेका ब्यासका स्थानीयलाई गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीले आफै गाउँ पुगेर बिरामीकै हातमा औषधि दिएका छन् ।

 भारतबाट औषधि ल्याएर सेवन गर्दै आएकी ७२ वर्षीया कुन्ती लालाले लकडाउनले ल्याउन नसकिएका बेला घरमै औषधि पाउँदा खुसी लागेको बताइन् । ढुवानी समस्याले अन्य औषधि पाउन समेत मुस्किल भइरहेका बेला दीर्घरोगीलाई झन् अप्ठ्यारो हुने गरेको छ । दीर्घरोगका औषधि सेवन गर्ने यहाका अधिकांश बिरामीले भारतबाट औषधि सेवन गर्ने गरेको ब्यास स्वास्थ्य चौकीका इन्चार्ज विक्रमसिह साहुले बताए । गाउँपालिकाभरि एक सय ६३ जना दीर्घ रोगको औषधि सेवन गरिरहेको गाउँपालिकाले जनाएको छ । 

जिल्लाकै सबैभन्दा विकटको ब्यास गाउपालिका १ को छाङ्गरु र तिंकर गाउका ५५ जना दीर्घ रोगको औषधि सेवन गर्दै आएका छन् । अहिले छाङ्गरु गाउमा औषधि वितरण सुरु गरिएको छ । तिंकरमा एक/दुई दिनमा वितरण गरिने ब्यास स्वास्थ्य चौकीले जनाएको छ । बाटोको समस्याका कारण गाउँमा पुग्न ढिला भएको पालिका अध्यक्ष बुढाथोकीले बताए । 

अन्य वडाहरुमा पहिले नै पुगिसकेको भए पनि ढुवानी गर्न समस्या भएको उनले बताए । ‘छाङ्गरु र तिंकर गाउमा यो बर्ष कुञ्चा सरेपछि दुई पटक आवश्यक मात्रामा औषधि पठाएका थियौ,’ उनले भने । पालिकामा अन्य बिरामीका लागि आवश्यक पर्ने औषधि पनि ल्याइएको छ । 

ब्यास १ का स्थानीयलाई अहिले पहुँच मार्गका आवश्यकता देखेर सरकारले ब्यास जोड्ने घोरेटो बाटो निर्माणलाई प्राथमिकता दिएको छ । ब्यास गाउँपालिकाले पनि यो वर्ष २४ लाख बजेट खर्च गरेर बाटो बनाइरहेको छ । ब्यास २ तम्बाकू र घाटीबगडमा बाटो खोल्ने क्रममा संघीय, प्रदेश र ब्यास गाउँपालिकाले काम गरिरहेको अध्यक्ष बुढाथोकीले बताए । 

जिल्लाकै विकट गाउ छाङ्गरुमा कोही बिरामी परे उपचार गर्न सधैं समस्या हुने गरेको छ ।  गाउमा स्वास्थ्य चौकी भए पनि औषधी र चिकित्सकको नहुदा भारतीयको भर पर्नुपरेको स्थानीय बताउछन् । 

अहिले लकडाउनले भारत जाने बाटो बन्द हुँदा यहाका स्थानीय सम्पूर्ण चिजमा भारत निर्भर भएको हुनाले धेरै किसिमका समस्याहरु झेलिरहेका छन् । यहा टाउको दुख्ने, उच्च रक्तचाप, घाउचोट लागेका बिरामी बढी हुने गरेको स्वास्थ्य चौकीका इन्चार्ज साहुले बताए । 


प्रतिकृया दिनुहोस