शनिबार १०, जेठ २०७७ ११:५४
बैतडी । गाउँ जोड्ने सडक निर्माणले मेलौली नगरपालिका २ सलेनामा सिँचाइ कुलो पुरिँदा रोपाइँ प्रभावित भएको छ । स्थानीय किसानहरूले अझैसम्म धानकाे बीउ छर्न पाएका छैनन् ।
सलेनाबाट मेलाैली ३ कुजगाड जाने सडकले सलेना गाउँकाे सिँचाइ कुलोमा क्षति भएको हो । सिँचाइ अवरूद्ध हुँदा वैशाखको अन्तिमतिर धानको बीउ राख्ने किसानले अझैसम्म सुरसार गर्न पाएका छैनन् ।
जेठ आधा हुन लाग्दासम्म कुलो मर्मत नभए पछि किसानहरु चिन्तित छन् । तीन सय परिवारको करिब ७ सय रोपनी खेतमा सिँचाइ गरिने पुरानाे कुलो पुरिए पछि रोपाइँ कसरी गर्ने अलमलमा छन् । कुलोको करिब तीन किलोमिटर क्षेत्रमा माटो, ढुंगा थुप्रिएको स्थानीय चुडामणि जाेशीले बताए । कुलो सफाइ गर्ने बारे कसैले पहल नगरेकाे उनकाे गुनासाे छ ।
राम्राे धान उत्पादन हुने सलेनामा समयमा राेपाइँ गर्न नपाए खाद्यान्न अभाव हुने स्थानीय बताउँछन् । 'राेपाइँ गर्ने समय सुरू हुन लाग्याे । बीउ राख्न पनि कुलाे संचालन भएकाे छैन,' जाेशीले भने, 'अरू गाउँमा बीउ उम्रिसक्याे । बेलामा धान राेप्न नपाए कसरी परिवार पाल्नु ? खेती लगाउन नपाए वर्षभरी समस्या हुन्छ ।'
उक्त सडकले सलेना बृहत खानेपानीको पाइप लाइनमा पनि क्षति भएको छ । सडक निर्माणकै कारण खानेपानी पनि अवरुद्ध भएको छ । तीन सय परिवारका लागि नया निर्माण भइरहेको योजनामा पानी झरिसकेको थियो । सडक निर्माणले क्षति भए पछि पानी आउन छाडेको स्थानीय बताउँछन् ।
मेलाैली ३ का वडाध्यक्ष रघुवीरिसंह भाटले सडक निर्माणबाट कुलाे र खानेपानी पाइपमा केही क्षति भए पनि मर्मत गरिएकाे दाबी गरे । 'सडकले क्षति गरेकाे क्षेत्रमा कुलाे मर्मत गरिदिएका छाैं । खानेपानी पाइप मर्मत गर्न पनि एक जनाकाे जिम्मा दिइसकेका छाैं,' भाटले भने, 'उनीहरूकै समस्याले कुलाेमा पानी संचालन नभएकाे हुनसक्छ ।'
कोरोना कहरले बाहिरबाट घर फर्केका युवाहरू बेरोजगार बसेका बेला सडक निर्माणमा डाेजरकाे सट्टा मजदुर प्रयाेग गरिएकाे भए राेजगारी र निर्माण दुबै एकसाथ हुने अवस्था भए पनि मेसिनबाट निर्माण गरिएकाे स्थानीयकाे गुनासाे छ । काेराेनाकाे त्रास र लकडाउनबीच धेरै दिनकाे कष्टकर यात्रा पछि मुस्किलले फर्कन सकेका युवाहरू गाउँमा समयमा खेती गर्न नपाउने र राेजगारीकाे अवसर पनि नभएकाले गुजारा चलाउने बिकल्प नभएकाे बताउँछन् ।
उक्त सडक निर्माण प्रदेश सरकारकाे याेजना अन्तरगत भएकाले ठेक्कामार्फत निर्माण गरिएकाे वडाध्यक्ष भाटले बताए ।
प्रतिकृया दिनुहोस