२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

ढल खन्दा भेटियो लिच्छविकालीन शिलालेख

बिहिबार ०८, पुष २०७८ १०:२२

ललितपुर । ललितपुरको पाटन दरबार क्षेत्र परिसरमा लिच्छविकालीन शिलालेख फेला परेको छ । ढल खन्ने क्रममा भीमसेन मन्दिर अगाडिको सुवर्ण झ्याल नजिक करिब ६ फिट अग्लो लिच्छविकालीन शिलालेख भेटिएको हो । लिपिविज्ञ श्यामसुन्दर राजवंशीका अनुसार यसमा १५ पंक्ति अभिलेखको पाठ छ । शिलालेखमा लिच्छवि लिपि र प्रौढ संस्कृत भाषा छ ।

शिरो भागमा दायाँबायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न छ । शिलालेखको लम्बाइ करिब ६ फिट लामो भए पनि अभिलेख कुँदिएको भागको नाप ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइ रहेको छ ।

लगनखेलदेखि पाटन दरबार क्षेत्र हुँदै शंखमूलसम्म ढल प्रणालीको सुधार तथा पुनःस्थापनाका क्रममा करिब दस फिट गहिरो खाडल खन्दा उक्त शिलालेख फेला परेको हो । तीन दशकअघि ढल व्यवस्थापन गरेकै स्थानमा शिलालेख भेटिनुलाई पुरातत्त्वविद्ले आश्चर्य मानेका छन् ।

यसअघि २०७८ भदौ २९ गते पाटन दरबार क्षेत्र परिसरमै ढल खन्ने क्रममा पूर्वमध्यकालीन शिलालेख भेटिएको थियो । उक्त शिलालेख पाटन संग्रहालयमा राखिएको छ । लिपिविद् राजवंशीका अनुसार हालसम्म करिब २५० लिच्छविकालीन अभिलेख संकलित छन् । संकलित अभिलेखमध्ये कुनै संग्रहालयमा र कुनै सम्बन्धित स्थानमै सुरक्षित राखिएको छ । संकलितमध्ये कतिपय पुरातात्त्विक अभिलेख भूकम्पका कारण पुरिएको उनले बताए ।


प्रतिकृया दिनुहोस