२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

१२ वर्ष माथिकालाई भाेलिदेखि खोप

शनिबार ०३, पुष २०७८ ११:१६

१२ वर्ष माथिकालाई भाेलिदेखि खोप

काठमाडौं । सरकारले बालबालिकाका लागि आइतबारदेखि ५७ जिल्लामा कोभिडविरुद्धको मोडर्ना खोप दिने भएको छ । १२ देखि १७ वर्षसम्मकालाई पुस १४ सम्म उक्त खोप दिइनेछ ।

खोपको दोस्रो डोज माघ २ देखि १२ सम्म दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारी तथ्यांकअनुसार १२ देखि १७ वर्ष उमेर समूहको संख्या ३४ लाख २५ हजार ४ सय ८ छ ।

यस्तै, पुस १३ देखि २२ सम्म आठ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने सरकारी तयारी छ । फाइजरको अर्को डोज माघ ४ देखि १३ सम्म दिइनेछ । ‘जुन जिल्लामा अत्यन्त न्यून तापक्रममा खोप भण्डारण गर्ने क्षमता छ, त्यहाँ फाइजर र त्यो क्षमता नभएका जिल्लामा मोडर्ना खोप दिइने भएको हो,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । फाइजर माइनस ७० डिग्री सेल्सियस र मोडर्ना माइनस २० डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिन्छ ।

साविकको खोप केन्द्रसँगै विद्यालयमा समेत केन्द्र विस्तार गर्न सकिने डा. अधिकारीले बताए । प्रदेश १ को झापा, मोरङ, सुनसरी, प्रदेश २ को सप्तरी, धनुषा, पर्सा, गण्डकीको कास्की, बागलुङ, लुम्बिनीको रूपन्देही, बाँके, दाङ र सुदूरपश्चिमको कैलाली गरी १२ जिल्लामा फाइजर खोप अभियान सञ्चालनबारे पछि मिति तोकिने उनले जानकारी दिए ।

फाइजर खोप १२ वर्षमाथिको उमेर समूहमा प्रभावकारी मानिएको छ । दुई डोज लिएकामा खोप नलिनेको दाँजोमा लक्षणयुक्त कोभिडले ग्रस्त हुने सम्भावना ९५ प्रतिशत कम देखिएको वैज्ञानिक अध्ययनले देखाएका छन् । खोप लिएको दुईदेखि तीन सातापछि कोभिडविरुद्ध शरीरमा एन्टिबडी उत्पन्न हुन थाल्छ । फाइजरको दुई डोज ३ देखि ६ साताको अन्तरमा लगाउनुपर्छ । १२ देखि माथिको उमेर समूहलाई प्रभावकारी मोडर्ना भने ४–६ साताको अन्तरमा दुई डोज लगाउनुपर्छ ।

शुक्रबारसम्म अनुदान र खरिद गरी ३ करोड ५४ लाख ६६ हजार ९ सय ८० डोज खोप भित्रिएको छ भने मार्चसम्म थप करिब ३ करोड डोज आउनेछ । देशभर २ करोड १४ लाख ४५ हजार १ सय ४५ डोज लगाइएको छ । एक डोजमात्र लगाउने ३९.२ प्रतिशत अर्थात् १ करोड १९ लाख १३ हजार ८ सय ८६ जना छन् भने पूर्ण खोप लिनेको संख्या ३१.४ प्रतिशत अर्थात् ९५ लाख ३१ हजार २ सय ५९ छ ।


प्रतिकृया दिनुहोस