बिहिबार १८, बैशाख २०७७ १२:५३
काठमाडाैं । लकडाउनमा घर बसाइँको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिर अनलाइनबाट पठाउन सकिनेछ । सहभागीले आगामी जेठ १८ गतेसम्म फोटो पठाइसक्नुपर्नेछ । नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ । प्रतियोगितामा उत्कृष्ट पाँच सहभागीले जनही दश हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले फोटो प्रतियोगिताले नेपालको कुनाकाप्चामा खिचिएको फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटोमार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानलाई अघि बढाउने विश्वास व्यक्त गरे ।
बोर्डले पाँच वर्षदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटो नेपाल फोटो प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो ।
यस अभियानलाई अझ व्यापक बनाउन फोटोनेपाल डट ट्राभल शुरु गरिएको हो । हाल यसमा दुई हजार बढी सदस्यका २० हजार फोटो सङ्ग्रहित रहेको बोर्डले जनाएको छ । इच्छुक कोहीले प्रतियोगितामा सोसियल एकाउन्टबाट रजिष्ट्रर गरीे सहभागी हुन सक्ने छन् ।
प्रतिकृया दिनुहोस