२०८२ साउन २० गते सोमबार | 4 August, 2025

ढोरपाटनमा दैनिक २०० बढी आन्तरिक पर्यटक

बुधबार २४, कार्तिक २०७८ ०६:५०

ढोरपाटनमा दैनिक २०० बढी  आन्तरिक पर्यटक

गलकाेट । नेपालकै एक मात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । दशै तिहारका समयमा याे स्थान घुम्ने पर्यटकमा बृद्धि हो ।

ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो शिकार याम चलिरहेको छ तर शिकार खेल्न विदेशी पर्यटक सोझै हिमाली क्षेत्रमा पुग्ने भएपनि आन्तरिक पर्यटक सिकार आरक्ष क्षेत्र कार्यालयस्थित ढोरपाटन उपत्यका, ढोरबारही मन्दिर लगायतका रमणीय क्षेत्रको अवलोकनका लागि त्यहाँ पुगेका छन् । 

ढोरपाटनमा सडकको सहज पहुँच, होटल, सामुदायिक घरबास र सञ्चार सुविधा पुगेसंगै थप आकर्षण बढ्न थालेको हो ।  यस वर्ष ढोरपाटनमा आन्तरिक पर्यटकको आगमन धेरै भएको स्थानीयवासी गगन पुनले जानकारी दिए । उनले भने, 'कोरोनाका कारण केही शिथिल बनेको ढोरपाटनको पर्यटन यसवर्ष निकै बढेको छ ।'

विशेष गरी बागलुङ, पर्वत, प्युठान, गुल्मी, रुपन्देही लगायतका स्थानबाट ढोरपाटन बढी आउने गरेको उनको भनाइ छ ।

'यस वर्ष त आन्तरिक पर्यटक राम्रै आएका छन्, दैनिक २०० भन्दा बढी पर्यटक ढोरपाटनमा आएको मैले पाएको छु, कोही गाडी लिएर आउँछन्, कोही मोटरसाइकल लिएर आउँछन्,' उनले भने, 'सडकको सुविधा भएर पनि होला, पहिले जस्तो पैदल हिँड्न परेन, गाडी ढोरपाटनको सबै ठाउँ पुग्छ ।'

पर्यटकको आमगन बढेसँगै ढोरपाटनमा व्यापार व्यवसाय पनि फस्टाउन थालेको छ । उनले ढोरपाटनमा उत्पादन हुने आलु, स्याउ, सिमी लगायतका उत्पादित वस्तुहरुले समेत उचित मूल्य पाउन थालेको जनाउँदै ढोरपाटनवासी पनि अब व्यवसायसँग जोडिन थालेका छन् । यसपटकको बिदाको समयमा पारिवारिक भ्रमणको गन्तव्य ढोरपाटन रोजेको बागलुङका अधिवक्ता राम शर्माले बताए। 

उनीसहित आठ जनाको समूह तीन दिने ढोरपाटन भ्रमण सकेर मंगलबार बागलुङ फर्किएको छ । 'पाँचौ पटक ढोरपाटन पुगे, यस पटक परिवार सबैलाई लिएको  गएको थियो, होटलहरु भरिभराउ भएको पाइयो, दैनिक चार पाँच समय पर्यटक ढोरपान पुगेको देखियो.' उनले भने, 'पुगे पनि धित मर्दैन ढोरपाटनमा पछिल्लो समय सेवा सुविधा वृद्धि भएर होला पर्यटक राम्रै पुगेको पाइयो ।'

पर्यटकको बाक्लो उपस्थिति रहेकोे ढोरपाटन भ्याली होटलका सञ्चालक गंगा भण्डारीले जानकारी दिए।  पछिल्लो समय ढोरपाटन क्षेत्रमा होटल तथा घरबास संख्यामा वृद्धि हुँदै आएको स्थानीयवासी गौमती पुनले बताए ।


प्रतिकृया दिनुहोस