२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

सोमबार ०१, कार्तिक २०७८ ०९:५१

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रूपैंया बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले  सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको ६ अर्ब गरी जम्मा ११ अर्ब २० करोड बराबरको ट्रेजरी  जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

९१ दिन अवधिको ट्रेजरी  आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी आगामी वैशाख ६ र ३६४ दिने ट्रेजरी २०७९ साल कात्तिक १ मा परिपक्व हुनेछ । यसअघि बैंकले गत असोज २५ गते १३ अर्ब २५ करोड बराबरको ट्रेजरी  जारी गरेको थियो । 

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ । आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई  बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । 

के हो ट्रेजरी बिल 

मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्नेगर्छ । अठ्ठाइस दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिल केन्द्रीय बैंकले जारी गर्दछ । नेपालमा हाल २८ दिने ट्रेजरी  बिल प्रचलनमा आएको देखिँदैन । -(रासस)


प्रतिकृया दिनुहोस