सोमबार १८, असोज २०७८ ०९:३७
काठमाडाैं । नेपाल टेलिकमले चाडपर्वका अवसरमा मंगलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको छ ।
याे अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । यसैगरी अगामी तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् । डाटा प्याकअन्तर्गत २९४ रूपैंयामा २० जीवी डाटा १० दिनभित्र र ९८ मा ६ जीवी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ ।
यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक रु ६९ मा उपलब्ध हुनेछ । भ्वाइस सेवाअन्तर्गत २५ रूपैंयामा १ दिन (२४) घण्टा प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० मा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५०० रूपैंयामा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार ३०० मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिन्छ ।
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने र २०० रूपैंयादेखि ४९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रूपैंया भन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने प्रवक्ता जोशीको भनाइ छ ।
उल्लिखित प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ ।
त्यसैगरी कम्पनीको वेबसाइटमार्फत पनि यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस