२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

दशैंको अग्रिम टिकट बुकिङ असोज दोस्रो सातादेखि खुलाउन प्रस्ताव

मङ्गलबार २९, भदौ २०७८ ०२:१६

दशैंको अग्रिम टिकट बुकिङ असोज दोस्रो सातादेखि खुलाउन प्रस्ताव

काठमाडौं । यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ ।

यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असेज ८-९ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेकाअनुसर दशैंमा उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।  

कोराेना महामारी शुरु हुनअघि दशैंमा करिब २० देखि २५ लाख यात्रुले उपत्यका छाड्ने गरेका थिए । गत वर्ष भने यात्रुकाे संख्या आधा घटेको थियो । अहिले संक्रमणको लहर कम भएकाले यो वर्ष दशैंमा घर जानेको संख्या गत वर्षभन्दा धेरै हुने अनुमान छ । गत वर्ष सरकारले अग्रिम टिकट बुकिङ नखुलाउँदा बाहिरिने यात्रुले अनेकन सकस भोग्नु परेको थियो ।

व्यवसायीहरुले बुकिङ खाेल्नुअघि दशैंमा घर जाने यात्रुको चाप अवस्था हेरेर निर्णय लिनुपर्ने बताएका छन् । यात्रुको चाप थोरै भएमा बुकिङ खोल्न आवश्यक नपर्ने संकेत व्यवसायीको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारसँग दोस्रो चरण छलफल गरेर मात्रै अग्रिम बुकिङबारे टुंगो लगाउने बताउँछन् । ‘महामारीको अवस्था छ, यात्रु धेरै नहोलान्, गाडीको उपलब्धताको अवस्था हेरेर अग्रिम बुकिङबारे निर्णय लिनुपर्छ,’ उनले भने । 

 


प्रतिकृया दिनुहोस