सोमबार ०७, भदौ २०७८ १०:०५
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य साेमबार राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रूपैंया वृद्धि गरेकाे छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १३० पुगेको छ । यस्तै डिजल र मट्टीतेल प्रतिलिटर ११३ पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर १२८, डिजल र मट्टीतेल प्रतिलिटर १११ मा बिक्री हुँदै आएको थियो ।
निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रूपैंयाले वृद्धि गरेको छ । यसअघि प्रतिसिलिण्डर एक हजार ४२५ मा कारोबार हुँदै आएको ग्यास अब एक हजार ४५० पुगेको छ ।
आन्तरिकतर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर दुईले वृद्धि भई ८६ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।
मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको जिकिर छ । निषेधाज्ञा जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा मात्रै निगमलाई ९६ करोड नौ लाख घाटा हुने देखिएको छ ।
निगमका अनुसार पेट्रोलमा कूल १९ करोड, डिजलमा १९ करोड ६ लाख र खाना पकाउने ग्यासमा ६२ करोड २२ लाख बराबरको घाटा रहेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पछिल्लो १५ दिनमा एक अर्ब १५ करोड २२ लाख बराबरको घाटा हुने देखिएपछि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । -(रासस)
प्रतिकृया दिनुहोस