२०८२ साउन २६ गते आइतबार | 10 August, 2025

कुखुराको सुलीबाट बिजुली  ! ६२ केभिएको जेनेरेटर चलाएर उज्यालाे

सोमबार ३२, साउन २०७८ ०९:२७

कुखुराको सुलीबाट बिजुली  ! ६२ केभिएको जेनेरेटर चलाएर उज्यालाे
  • नारायण अधिकारी

चितवन । कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वी चितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा संकलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरेका छन् । उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिइएको छ । उनका अनुसार सुलीबाट मासिक एक लाख हाराहारीको विद्युत् उत्पादन भएको छ । 

खैरहनी नगरपालिका– १ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट्री बिडर्स फार्म प्रालीमा जडित बायोग्यास प्लान्टबाट विद्युत् उत्पादन हुँदै आएको हो । फार्मले ६२ केभिएको जेनेरेटर ग्यासबाटै सञ्चालनमा ल्याएको छ । यससँगै तीन फार्मलाई आवश्यक पर्ने विद्युत् यहीबाट उत्पादन भएको छ ।

फार्म सञ्चालक अर्यालका अनुसार सुरुमा १२ लाख खर्च गरेर ग्यास उत्पादन थालिएको हो । यसको प्रभावकारिता राम्रो देखिएपछि एक करोड ६५ लाख खर्च गरेर अत्याधुनिक सिएसटिआर प्रविधिअन्तर्गत ५०० घनमिटरको आधुनिक डोमबाट ग्यास उत्पादन हुँदै आएको छ । यसका लागि विश्व बैंकले ऊर्जा विकास कम्पनीमार्फत ५२ लाख अनुदानसमेत दिएको उनको भनाइ छ ।

सुलीबाट ग्यास उत्पादन भएपछि गन्ध हराउने र मल थप प्रभावकारी हुने भएपछि उनी यसप्रति आकर्षित भएका हुन् । यससँगै इन्धन बचाउने काममा ग्यास प्रभावकारी भएको छ । निकट भविष्यमा दुई हजार घनमिटरको डोमबाट बायोग्यास उत्पादन गर्ने उनको तयारी छ ।
 
उनका अनुसार बैंकले प्रस्ताव स्वीकृत गरेको छ । यो परियोजना सम्पन्न हुँदै गर्दा दुई लाख १५ हजार कुखुरालाई आवश्यक पर्ने सम्पूर्ण इन्धन ग्यासबाट पूरा हुनेछ । यसका लागि करिब १२ करोड खर्च हुनेछ । सोमध्ये चार करोड विश्व बैंकले अनुदान दिने उनको भनाइ छ । यसबाट २५० केभिएको जेनेटर चल्नेछ । यसले अत्याधुनिक वातानुकूलित खोरमा आवश्यक विद्युत् पूरा गर्ने उनले बताए ।

अहिले खोरमा एक लाख कुखुरा  छन् । केही महिनाभित्रमा दुई लाख १५ हजार पु¥याउनका लागि आधुनिक खोर बनिरहेका छन् । नेपालमा उच्चस्तरको केज प्रविधि भित्र्याउने अर्याल सरकारको जागिर छाडेर यो पेशामा लागेका हुन्। विसं २००८ असार ११ गते काठमाडौँको ज्याठामा जन्मिएका उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । बुबा अदालतमा जागिर गर्ने हुँदा उनले देशका विभिन्न जिल्लामा रहेका जेपी हाइस्कुल, भुटनदेवी हाइस्कुल, ठाकुरराम क्याम्पस, त्रिचन्द्र कलेज, शङ्करदेव क्याम्पसलगायतमा अध्ययन गरेका छन् ।

१८ वर्ष नेपाल बैंकमा जागिरपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अर्याललाई विसं २०५० मा माध्यमिक शिक्षा विकास परियोजनाको निर्देशकमा नियुक्त गरेसँगै उनी राजनीतिक नियुक्तितर्फ लागेका थिए । लम्जुङका नेपाली कांग्रेसका नेता श्रीकान्त अधिकारी र  उदयनाथ अधिकारी लगायतको नाता सम्बन्धका कारण राजनीतिमा प्रवेश गरेका उनले निर्देशक पदबाट हटेसँगै आफ्नै व्यवसाय थालेका हुन् ।

उनकी बहिनी डिना उपाध्याय अहिले पनि कांग्रेसको केन्द्रीय नेता छिन् । विसं २०५२ मा चितवन झरेर उनले कुखुरापालन व्यवसाय शुरु गरेका हुन् । उनकी श्रीमती सुमा अर्यालले जनकपुर चुरोट कारखानाको अधिकृतको जागिर छोडेर यो पेशा अंगालेकी छन्। अध्ययनका कारण उनीहरुले सामान्य नभएर अत्याधुनिक प्रविधिमा जानुपर्छ भन्ने सोचका साथ व्यवसाय सुरु गरेका हन् । सो ठाउँमा दुई बिघा १० कठ्ठा जग्गा खरिद गरेर उनले अटोमेटिक केजमार्फत व्यवसाय शुरु गरेका हुन्। उनले भने, 'नेपालमा हामीले पहिलो पटक आटोमेटिक केज भित्र्याएका हौँ ।' उनहरुको क्लोज हाउसमा कटनले बारिएको छ भने  पूर्णरुपमा क्लोजहाउस विकास गरिने जनाइएको छ ।

उनले सुरुमा ६० हजार कुखुरापालनबाट पेशा थालेका थिए । केजमा उत्पादन भएको अण्डा ठूलो र आकर्षक हुने हुँदा अण्डाको माग राम्रो छ । भविष्यमा यस पेशालाई आधुनिक बनाउने उनको योजना छ । सत्तरी वर्षका उमेरमा पनि युवाहरुसँग व्यावसायिक प्रतिस्पर्धा गर्न सफल उनी पोल्ट्री क्षेत्रमा नेपालमा चिनिएका छन् । उनी भन्छन्, 'खेर जाने सुलीलाई उपयोग गर्न सक्यौँ भने कसैका खोरमा विद्युत् किन्नु पर्दैन ।' 

बायोग्यास बनाउनुपूर्व गन्धका कारण स्थानीयले समयसमयमा विरोध गर्दै आएकामा अहिले खोरभित्रमात्रै होइन, बायोग्यासपछि निस्किएको मलमा गन्ध आउँदैन । यो मलमा नाइट्रोजन प्रशस्त हुने हुँदा उर्वर मानिन्छ । उनले खोर वरिपरि अग्लो बार र हरियाली बनाएका छन् । उनको फार्म पुग्दा जोकोहीलाई तारे होटल पुगे जस्तो भान हुन्छ । - (रासस)


प्रतिकृया दिनुहोस