२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

बजेट पारित नहुँदै कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य, अध्यादेशबाट ल्याउने तयारी

बिहिबार ३१, असार २०७८ ०८:२६

बजेट पारित नहुँदै कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य, अध्यादेशबाट ल्याउने तयारी

कर्णाली । कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेदेखि प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्य गरेका हुन् । 

बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम चालू अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को लगातारको अवरोधका कारण प्रदेशसभाकाे बजेट अधिवेशन प्रभावित भएको थियो । प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरे पनि त्यसयताका बैठक एमाले अवरोधले कार्यसूचीमा प्रवेश गर्न नपाई स्थगित हुँदै आएका थिए । प्रदेशसभाबाट बजेट पारित हुन नसकेपछि सरकार अध्यादेशबाट बजेट ल्याउने तयारीमा छ ।

एमाले प्रदेशसभा सदस्य पद्मा खड्काले प्रदेशसभामा विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा एक तिहाइ बजेटसहित पेश्की खर्च विधेयक ल्याउन सकिने संवैधानिक प्रावधान छँदाछँदै सरकार निरंकुश ढङ्गले अघि बढेको बताए ।

सदनमा सर्वोच्च अदालतको आदेशविपरीत आफ्ना सदस्यलाई सरकारले सत्तापक्ष बनाएको भन्दै मन्त्री पदबाट हटाउनुपर्ने एमालेको माग थियो । नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस गठबन्धनको सरकारमा हाल एमालेका तीन सदस्य मन्त्री छन् । (रासस)


प्रतिकृया दिनुहोस