२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

कोरोनाकालमा खुलेको उद्यमको बाटो

शुक्रबार ०४, असार २०७८ ०८:५३

रामबहादुर थापा 
बागलुङ । १४ वर्षसम्म मलेशियामा श्रम–पसिना बगाएर फर्किएका भवीन्द्र विक फेरि पनि विदेशै जाने योजनामा थिए । अझ राम्रो कमाइ हुने देखेर उनको मन दुबईतिर मोडिँदै थियो । भिषाको प्रक्रिया पनि थाले। सोचेझैँ जिन्दगी कहाँ छ र ?

दुबईको काम बेलैमा नसल्टिएपछि विक एकाएक भारत हान्निए । उत्तर प्रदेशको कानपुरमा होटलको काम सुरु गरे । रोजगारीका लागि भारत छिरेको आठ महिना नपुग्दै कोरोना महामारीले विश्व आक्रान्त बन्यो ।

भारतमा पनि कोरोना सङ्क्रमण डरलाग्दो गरी फैलियो । बन्दाबन्दीको घोषणा भयो । त्यहाँ श्रम गर्ने नेपाली पैदलै स्वदेश फर्कन थाले । ४२ वर्षीय विकले पनि घर फर्कने निर्णय लिए । विसं २०७६ चैत ९ गते उनी घर फर्के । ११ गतेदेखि त यहाँ पनि बन्दाबन्दी सुरु भयो । 

'दुबईका लागि प्रयास गरेँ, त्यहाँको प्रक्रिया ढिलो हुने भएपछि काम खोज्दै भारत गएको थिएँ,' गलकोट नगरपालिका–११ रिघाका विकले भने, 'कोरोनाका कारण त्यहाँबाट पनि फर्कनुपर्यो ।' घर फर्केपछि बिनाइलम बस्न उनको मनले मानेन । विकको वैदेशिक रोजगारीकै भरमा घर खर्चदेखि छोराछोरीको पढाइ धानिन्थ्यो । कमाइको बाटो नै रोकिएपछि परिवारलाई समस्या पर्ने नै भयो । आफ्नोभन्दा पनि छोराछोरीको भविष्य देखेर विकको मन कुँडिन थाल्यो ।

महामारीको चपेटाबीच न तत्काल विदेश जान सक्ने स्थिति थियो, अर्कोतिर परिवारको मायाले जरक्क उठेर हिँड्न मनले मान्दैन्थ्यो । 'महामारीको समयमा जे–जस्तो भए पनि परिवारसँगै बस्ने, बरु यहीँ दुःख गरेर खाने भन्नेमा पुगेँ,' विकले भने ।

भारतमा छँदा कोरोनाका कारण परिवारसँग भेट हुनै नपाइने हो कि भन्ने चिन्ताले आफूलाई गाँजेको विकले सुनाए । स्वदेश फर्केपछि भने उनले कोरोनाकालमै जीवनलाई नयाँ मोड दिनेतिर सोच्न थाले । नेपालमै केही गर्ने अठोट लिए ।

बागलुङ नगरपालिका–३ रातमाटामा भाडामा घरजग्गा पाइएपछि विकले त्यही कृषि र पशुपक्षीपालन गर्ने योजना बनाए । अध्ययनका लागि दुई छोरी र एक छोरासहित श्रीमती सदरमुकाममै भएकाले विकलाई व्यवसायमा हात हाल्न पनि सजिलो भयो । गत पुसदेखि उनले 'हाम्रो कृषि तथा पोल्ट्री फार्म' सञ्चालनमा ल्याएका छन् ।

फार्ममा अहिले स्थानीय जातका कुखुरा, बट्टाई, हाँस, खरायो, बाख्रापालनसहित तरकारी खेती पनि छ । ऋणधन गरेर ६ लाख फार्ममा लगानी गरेको विकको भनाइ छ । 'व्यवसाय थालेको धेरै भएको छैन, विस्तारै लगानी पनि थप्दै जाने र फार्म पनि विस्तार गर्ने योजनामा छु,' विकले भने ।

फार्ममा अहिले ३०० स्थानीय जातका कुखुरा, २०० बट्टाई, हाँस, खरायोलगायत छन् । स्थानीय जाततर्फ साकिनी, लुइँचे र गुजुमुजे कुखुरापालन गरिएको छ । सबै खर्च कटाएर अहिले मासिक २५ हजार जति आम्दानी निस्कने गरेको विकले बताए । उनी अब व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारीमा छन् ।

फार्ममा उत्पादित कुखुरा, बट्टाई र अण्डाका लागि बजारको भने कुनै समस्या छैन । 'धेरैजसो फार्मबाटै बिक्री हुन्छ, माग आउँदा बजारमा पनि पुर्याउँछौँ,' विकले भने । स्थानीय जातको कुखुरा प्रतिकिलो ८०० र अण्डा प्रतिक्रेट ५०० मा बिक्री हुन्छ । यस्तै बट्टाईको अण्डा प्रतिक्रेटलाई २८० पर्छ । मासुका लागि बट्टाईको भाले किन्दा २५० सम्म पर्ने गरेको छ ।

फार्मका लागि वार्षिक ७० हजार भाडा तिर्ने गरी चार रोपनी जग्गा भाडामा लिएको विकले बताए । फार्ममा दैनिक काम घरकै सदस्यले गर्छन् । विकलाई श्रीमती जुनमायाको दरिलो साथ छ । ठूली छोरीको सिलाइ व्यवसाय छ । अर्की छोरी स्नातक र छोरा कक्षा ११ मा पढ्छन् ।

छोराछोरीले पनि बावुआमालाई काममा उत्तिकै सघाउँछन् । विकले फार्मका लागि अहिलेसम्म कसैको अनुदान वा सहयोग लिएका छैनन् । 'अहिले त लगानी पनि थोरै छ, व्यवसाय थप विस्तार गर्दैछु,' उनले भने, 'आफू पनि यहीँ स्वरोजगार हुने सके अरुलाई पनि काम दिने सोचमा छु ।' (रासस)


प्रतिकृया दिनुहोस