२०८२ साउन २१ गते मङ्गलबार | 5 August, 2025

आइएमई फाउन्डेसनद्वारा तीन कराेडका स्वास्थ्य सामग्री सहयोग

मङ्गलबार १८, जेठ २०७८ ०७:४९

आइएमई फाउन्डेसनद्वारा तीन कराेडका स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित मुनाफारहित परोपकारी संस्था आइएमई फाउन्डेसनले कोराेना रोकथाम तथा उपचारकालागि नेपाल सरकारलाई करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ ।

मंगलबार आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका थिए ।

फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रूपन्देही, सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली र निजामती कर्मचारी अस्पताल, मीनभवन, काठमाडौंलाई २०/२० थान गरी ८० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको आइएमई समूहका प्रवक्ता राजु पौडेलले जानकारी दिए ।

यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवारोग अस्पताल टेकुमा करिब रु १,२८,००,००० बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि प्लान्ट अर्डर गरिसकेको छ । 

यस अघि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहँदा देहावासन भएका नेपालीहरूको घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी करिब १ सय प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति रु. ५८,००० गरी करिव ६० लाख राहत उपलब्ध गराएको थियो ।

फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । फाउन्डेसनले विभिन्न समुदायद्वारा सञ्चालित आइसोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको पनि पाैडेलले बताए ।


प्रतिकृया दिनुहोस