२०८२ साउन १८ गते शनिबार | 2 August, 2025

आठ महिना पछि नेपाल–भारत उडान खुला

आइतबार १४, मङि्सर २०७७ ०२:३९

आठ महिना पछि नेपाल–भारत उडान खुला

काठमाडौं । आठ महिनादेखि बन्द नेपाल–भारत उडान खुलाउने निर्णय सरकारले गरेको छ । नेपाली ध्वजावाहक वायुसेवाले एउटा र भारतीय वायुसेवाले एउटा गरी दिनमा दुईवटासम्म उडान गर्ने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए ।

नेपालले कोरोना संक्रमण रोकथामका लागि गत चैतदेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो ।

सरकारले गत भदौ १६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला गरे पनि भारत र चीनले अझै पनि निःसर्त नियमित अन्तर्राष्ट्रिय उडान खुला गरिसकेका छैनन् ।

भारतले दुई देशका नागरिकलाई मात्रै सेवा दिलाउने सर्तमा एयर–बबल अवधारणामा उडान खुलाउन नेपाललाई एक महिनाअघि प्रस्ताव गरेको थियो ।

यसै प्रस्तावका आधारमा नेपालले दिनमा दुइटासम्म नेपाल–भारत उडान गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । ‘मन्त्रिपरिषद्को निर्णय मकहाँ प्रमाणित भएर आइसकेको छैन,’ सचिव कोइरालाले भने, ‘पहिलोचोटि एउटा उडान हुनसक्छ ।’

एयर–बबल भनेको दुवै देशका वायुसेवाले आफ्ना नागरिकलाई मात्रै सर्तसहित सेवा दिने अवधारणा हो ।


प्रतिकृया दिनुहोस