शनिबार ०३, असोज २०७७ ०७:०३
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र वायुसेवा सञ्चालकहरुबीचको छलफलमा मन्त्रालय पूर्ण क्षमतामा यात्रु राखेर जहाज सञ्चालन गर्न दिन सहमति भएको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले बुधबार तोकिएको आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राखेर उड्नुपर्ने नियम हटाउने निर्णय गरेको हो ।
मन्त्रालयले शुक्रबार यसबारे निर्णय गर्दै नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको छ ।
यसअघि जहाजहरुले स्वास्थ्य सुरक्षाका लागि सीट क्षमताको आधा मात्रै यात्रु राखेर विमान सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको थियो । वायुसेवा सञ्चालकहरु आधा मात्रै यात्रु राख्दा लागत खर्च समेत नउठ्ने भन्दै उडान नगर्ने निर्णयमा पुगेका थिए ।
त्यसले असोज १ गतेदेखि खुला भएको उडानलाई असोज ५ गते सारिएको थियो । अहिले भने मन्त्रालय पूर्ण क्षमतामा जहाज चलाउन दिन सहमत छ ।
परिपत्रमा असोज १५ गतेसम्मको लागि वायुसेवा सञ्चालकहरुलाई लकडाउनअघि ओगटेको बजारहिस्सा अनुसार २५ प्रतिशत उडान हुनेगरी तालिका स्वीकृत गर्न भनेको छ ।
त्यस्तै, आन्तरिक हवाई यात्राका लागि बोर्डिङ पास लिनुअघि यात्रुहरुले हेल्थ डिक्लियरेसन फर्म भरेर सम्बन्धित वायुसेवा संस्थालाई बुझाउनुपर्ने र सोही बमोजिम प्राधिकरणले सार्वजनिक सूचना निकाल्नुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै, विमानस्थलमा भिड हुन नदिन मौसम, प्राविधिक समस्या आदिका कारण उडान ढिलो हुने वा स्थगित हुने अवस्थामा ग्रुप एसएमएसमार्फत् सकेसम्म छिटो जानकारी दिनुपर्ने, यात्रुहरुले मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने, चालक, सहचालकहरुले मास्क भाइजर र पञ्जा अनिवार्य रुपमा लगाउनुपर्ने व्यवस्था गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयले चार्टर्ड उडानको हकमा भने लकडाउनअघिकै अवस्था बमोजिम हुने व्यवस्था गर्न भनेको छ ।
प्रतिकृया दिनुहोस