शुक्रबार ०२, असोज २०७७ ०७:१०
काठमाडौं । जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् ।
रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको रेलका दुई सेट बिहीबार राति भारत बिहारकाे जयनगर आइपुगिसकेकाे छ ।
रेलका सेट बुझ्न रेलवे कम्पनी र विभागका उच्च अधिकारीहरू पनि काठमाडौंबाट जनकपुरका लागि बिहीबार नै हिँडेका थिए ।
बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको हो ।
शुक्रबार ट्रायलका लागि जनकपुर आएर फर्किने रेल कहिलेदेखि नियमित सञ्चालन गर्ने भन्ने मिति पनि टुंगो गर्न बाँकी नै छ । सबै चाँजोपाँजो मिलेमा एक महिनाभित्रै नियमित सेवा थालिने नेपाल रेलवेका अधिकारीहरू बताउँछन् ।
शुक्रबार नेपाल भित्रिने रेल हाल जयनगर–जनकपुर र कुर्था रुटमै सञ्चालन हुनेछ । कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किमि दूरीमा भने रेलवेको लिंक ओछ्याउने काम जारी छ ।
बिजलपुरादेखि पूर्व–पश्चिम राजमार्ग छुन्ने बर्दिवाससम्मको १७ किलाेमिटर जग्गा भने अधिग्रहण र मुआब्जाको झमेलाले निर्माण प्रक्रिया लम्बिएको छ ।
रेलवे विभागले रेल सञ्चालनका लागि यसै साता प्राविधिकसहित कर्मचारी भर्नाको विज्ञापन निकालेको छ । प्राविधिकसहित १ सय २९ जना कर्मचारी भर्नाका लागि रेलवेले सूचना प्रकाशन गरेको छ ।
प्रतिकृया दिनुहोस