बुधबार ३१, भदौ २०७७ ०१:०८
सुरूंगा । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा घरकाे फुसको छानो फेर्न सवा अर्ब बढी बजेट बिनियाेजन भएकाे छ।
विपन्न नागरिककाे खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन झापा ५ मा पर्ने चार पालिकाका लागि सरकारले एक अर्ब ३६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटले सबै विपन्न नागरिकको घर निर्माण गरिने छ ।
विपन्न नागरिकलाई लक्षित गर्दै नागरिक सुरक्षा आवास कार्यक्रम, जनता आवास कार्यक्रम र विपन्न आवास कार्यक्रम सञ्चालनमा छन् ।
सञ्चालित कार्यक्रम मध्ये दुई हजार ७३० परिवारका लागि यो वर्ष खरको छानो परिवर्तन गरेर जस्तापाता लगाइने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र भित्र पर्ने दमक नगरपालिकामा ६१६ र गौरादह नगरपालिकामा ६६३ विपन्नका लागि छानो फेरिँदैछ ।
त्यस्तै कमल गाउँपालिकामा ८३० र गौरीगञ्ज गाउँपालिकामा ६२७ परिवारको छानो फेर्ने कार्यक्रम रहेको बताइएको छ । जस्ता पाता फेर्नका लागि प्रत्येक घरलाई ५० हजार उपलब्ध गराइने भएको छ ।
त्यस्तै घर नभएका विपन्न नागरिकका लागि घर बनाएर दिने कार्यक्रम अन्तरगत ‘जनता आवास कार्यक्रम’ मार्फत १२० वटा घर निर्माण गरिने भएको छ । एक घर निर्माणका लागि तीन लाख ५० हजार प्रदान गरिने र बाँकी अपुग रकम स्थानीय तह र सम्बन्धित घरधनीको जनश्रमदान रहने थापाले बताए ।
दमक र गौरादह नगरपालिकामा ३२/३२ वटा र गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा २८/२८ वटा घर निर्माण हुने भएका छन् । यसका लागि लागि ४२ करोड खर्च हुने बताइएको छ ।
यता सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत दमकमा १५ र गौरीगञ्जमा १३ वटा नमूना घर निर्माण हुने भएका छन् । आवास योजनाअन्तरगत नै तराई मधेश समृद्ध कार्यक्रममार्फत पनि गौरीगञ्ज र गौरादह नगरपालिकामा विपन्न नागरिकका लागि घर निर्माण गरिने भएको छ ।
प्रतिकृया दिनुहोस